महाशिवरात्रि पर्व भगवान् शिवको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ : देशभर महाशिवरात्रि पर्व आराध्य देव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदैछ। शिवरात्रि पर्व मनाउन पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीले पूजाआजा गरिरहेका छन्।
शिवजी उत्पत्ति भएको रातका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।
आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। शिवरात्रिका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको छ।
कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन मात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषका अनुसार यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ। दर्शनार्थीको सवारी सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
फागुन २७, २०७७ बिहीबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।