माधव पक्षको तयारी : ओली पक्षले पेले ठाउँको ठाउँ प्रतिवाद,परिआए अलग हुने

माधव पक्षको तयारी : ओली पक्षले पेले ठाउँको ठाउँ प्रतिवाद,परिआए अलग हुने

काठमाडौँ : सर्वोच्च अदालतको आदेशसँगै नेकपा एकता भङ्ग भएपछि बसेको माधव नेपाल निकट एमालेको केन्द्रीय सदस्यहरूको भेलाले केपी ओली पक्षले पेले ठाउँको ठाउँ प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ। बुधवारै सुदूरपश्चिमको इन्चार्जको विवादमा ओली पक्ष र माधव पक्षविच झडप भइसकेको छ। 

बानेश्वरमा रहेको अर्याल होटेलमा बुधवार बसेको नेपाल पक्षको भेलाले माओवादीसँग एकीकरणको प्रक्रियालाई निरन्तरता दिन पार्टीमा दबाब बढाउने, ओली पक्षले देशभर पार्टी कार्यालय कब्जा गर्ने रणनीति लिएकाले त्यसको प्रतिवाद गर्ने र ओली समूह पेलेर अगाडि बढेका तल्लो तहसम्म समानान्तर कमिटी निर्माण गर्न परे पनि गर्न तयार हुन छलफल भएको एक नेताले बताए।

ओलीलाई साथ दिइरहेका माओवादी केन्द्रका नेताहरूलाई पार्टीको विभिन्न पदमा ल्याउने तयारीमा ओली समूह सक्रिय रहेको भन्दै त्यसो हुन नदिने र पेलेरै गए प्रतिवाद गर्ने विषयमा समेत भेलामा सहमति बनेको थियो।

पार्टीको स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्म आफ्ना अजेण्डाहरु निरन्तर उठाइरहने, यदि त्यसको सुनुवाइ नगरी ओली समूह पेलेर अगाडि बढे‘परिआए पार्टीबाट अलग हुन समेत मानसिक रूपमा तयार रहन नेताहरूले केन्द्रीय नेताहरूलाई ब्रिफिङ गरेका थिए। 

प्रधानमन्त्री ओली जसरी पनि सरकार टिकाउने रणनीतिमा लागेकाले तत्काल सरकारलाई अप्ठ्यारो पार्ने गतिविधि गर्न नहुनेमा धेरै सदस्यहरू सहमत देखिएको एक सहभागीले बताए। ‘तत्काल नयाँ सरकारबारे हाम्रो समूहको कुनै रणनीति छैन, तर पार्टीको संरचना हिजो माओवादी केन्द्रसँग एकीकरण हुनुभन्दा अगाडि जस्तो थियो त्यो भन्दा अलग स्वीकार हुन्न।’

सरकार जसरी पनि टिकाउने रणनीतिसँगै ओली समूहले पार्टीलाई कब्जा गरेर आफू अनुकूल सञ्चालन गर्ने अभ्यासलाई अगाडि बढाउने रणनीति बनाएको उनीहरूको बुझाई थियो। त्यसका लागि जिल्ला–जिल्लामा आफू निकटकालाई निर्देशन दिने काम भइरहेको केही नेताहरूले बैठकमा ब्रिफिङ गरेका थिए।

‘अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँतिए पनि सरकारमा रहेका माओवादीका नेताहरू सकेसम्म एमालेमा बस्न इच्छुक देखिनुभएको छ,’ ती नेताले भने‘उहाँहरू एमालेमा बस्ने हो भने हाम्रो आपत्ति छैन, तर पार्टीको संरचनामा तलमाथि गरे स्विकारे हुन्न।

पार्टीको भत्किएको विधि स्थापित गर्नुपर्ने भन्दै केही केन्द्रीय सदस्यहरूले धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा बस्ने पार्टीको बैठकमा सहभागी हुने तर प्रधानमन्त्रीले बालुवाटारमा बैठक राखे सहभागी हुन नहुने धारणा समेत राखेका थिए।

‘आफूलाई चाहिएको बेला ओली जता पनि गइरहेका छन्, अब स्वास्थ्यको समस्या पनि देखिएको छैन। त्यसैले बालुवाटारमा पार्टीको बैठक राखे सहभागी हुन नहुने केही कमरेडहरूको धारणा आएको छ।’ नेपाल समूहका एक नेताले भने‘पार्टीलाई एक बनाएर अगाडि बढ्न कुनै समस्या छैन। तर कब्जा रणनीति र पेलान कार्यनीति लिए स्वीकार गर्न सकिन्न।

फागुन २६, २०७७ बुधबार २२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।