पुरानै लयमा फर्कने गृहकार्यमा माओवादी केन्द्र,सरकार बनाउने जिम्मा प्रचण्ड र नारायणकाजीलाई

पुरानै लयमा फर्कने गृहकार्यमा माओवादी केन्द्र,सरकार बनाउने जिम्मा प्रचण्ड र नारायणकाजीलाई

काठमाडौँ : सर्वोच्च अदालतको परमादेशका आधारमा नेकपा एमालेसँग भएको पार्टी एकीकरण विघटन भएपछि माओवादी केन्द्र आफ्नो पुरानै लयमा फर्कने गृहकार्यमा सक्रिय भएको छ। पार्टी एक भएपछि तल्लो तहसम्मका सबै संरचना एकीकृत गरेको पार्टीले अब आफ्ना सबै संरचनाहरू ब्युँताउन सक्रिय भएको हो।

बुधवार पेरिस डाँडामा रहेको पार्टी मुख्यालयमा बसेको स्थायी समितिको बैठकले पार्टीको सङ्गठनात्मक संरचनाबारे गृहकार्य गर्ने जिम्मेवारी पार्टी नेतृ पम्फा भुसाल, नेता जनार्दन शर्मा,वर्षमान पुन र गिरिजामणि पोखरेललाई दिएको छ।

पार्टी एकीकरण भएपछि पार्टीको तल्लो कमिटीदेखि भातृ सङ्गठनहरू समेत सबै नेकपामा विलय गराउँदै नेतृत्व बाँडफाँड गरिएको थियो। पार्टी कार्यालयहरू समेत एक भएका थिए। जिल्ला तहमा छुट्टाछुट्टै पार्टी कार्यालय खोल्ने क्रम सुरु भएको छ।

यो बिचमा नेकपामा विलय भएका केन्द्रिय तहदेखि जिल्ला तहसम्मका नेता को नेकपाहुँदै एमालेमा सक्रिय हुने तयारीमा छन् को माओवादी केन्द्र फर्किए भन्ने यकिन गर्ने म्याण्डेड समेत कार्यदलले पाएको छ।

नेकपा बनेपछि एमालेको बल्खु कार्यालय सञ्चालन गर्न सक्ने अवस्था नभए पनि मुख्यालयको रूपमा धुम्बाराहीमा कार्यालय खुलेको थियो। सो कार्यालयलाई एमालेले आफ्नो बनाइसकेको छ।

पेरिस डाँडामा रहेको माओवादी केन्द्रको मुख्यालयलाई पनि हेडक्वाटरकै रूपमा प्रयोग गरिए पनि हस्तान्तरण भने नभइसकेकाले माओवादी केन्द्रले सहज रूपमा त्यसलाई आफ्नो मुख्यालय बनाएको छ।

के गर्छन् मन्त्री ?

माओवादी केन्द्र र एमाले अलग अलग दल भए पनि सरकारमा माओवादीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले के गर्छन् भन्ने यकिन भएको छैन। प्रतिनिधि सभा सदस्य रहेकाहरू माओवादी केन्द्रमा नफर्किए पार्टीले कारबाही गर्न सक्ने कानुनी बाटो खुल्लै छ।

तत्काल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले तत्काल उनीहरूलाई सरकार छाड्ने बाध्यता छैन। तर उनीहरू माओवादी केन्द्रमा फर्कने मुडमा देखिएका छैनन्।

रामबहादुर थापा बादललाई उपाध्यक्ष बनाएर एमालेमै रहन सहज बनाउने गृहकार्य अगाडि बढिसकेको छ भने सुदूरपश्चिम पकड जमाएका भीम रावललाई टक्कर दिन लेखराज भट्टलाई अगाडि बढाउने रणनीतिमा ओली समूह सक्रिय देखिएको छ।

सरकार गठनको गृहकार्य

एमालेलाई दिएको समर्थन फिर्ता नलिए पनि माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न सक्रिय भइसकेको छ। उसले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग संवाद समेत अगाडि बढाइसकेको छ।

बुधवार बसेको स्थायी समितिको बैठकले संवादलाई औपचारिकता दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ। जिम्मेवारी पाए लगत्तै दुवै नेता सक्रिय भइसकेका छन्।

 

फागुन २६, २०७७ बुधबार १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।