सङ्गठनात्मक कार्य योजना प्रस्ताव गर्न कार्यदल गठन 

सङ्गठनात्मक कार्य योजना प्रस्ताव गर्न कार्यदल गठन 

काठमाडौँ : नेकपा माओवादी केन्द्रले पार्टीको सङ्गठनात्मक कार्य योजना प्रस्ताव गर्न कार्यदल गठन गरेको छ। सर्वोच्च अदालतले जारी गरेको परमादेशबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएसँगै पार्टीको सङ्गठनात्मक कार्य योजना प्रस्ताव गर्न माओवादी केन्द्रले चार सदस्यीय कार्यदल बनाएको हो।

पार्टी कार्यालय पेरिसडाँडामा आज बुधवार बसेको माओवादी स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलमा  वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र गिरिराजमणि पोखरेल छन्। कार्यदललाई  देशभरिकै पार्टी कमिटी, जनवर्गीय सङ्गठनलगायतको अवस्थाबारे विस्तृत अध्ययन गरी आगामी चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा सुझाव पेस गर्ने भनिएको छ। 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा विभिन्न पार्टीसँगको छलफलका बारेमा अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएका छन्। त्यस्तै पार्टीको केन्द्रीय कमिटी चैत्र १ गते र भेला दुई गते हुने भएकाले भेलामा सहभागी हुनेको मापदण्ड निर्धारण पनि गरिएको श्रेष्ठले बताए। 

माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थनबारे छलफल गरे पनि टुङ्गो लगाएको छैन। बैठकले माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल र प्रमुख सचेतकमा देव गुरुङलाई नै कायम राखेको छ।

फागुन २६, २०७७ बुधबार १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।