कर्णाली नदीमा हाम फालेका मध्ये अझै एक जना बेपत्ता

कर्णाली नदीमा हाम फालेका मध्ये अझै एक जना बेपत्ता

दैलेख : कर्णाली नदीमा हाम फालेका सुकी बडूवाल सहितका ५ मध्ये एक जनाको शव अझै फेला परेको छैन। दुई दिन अघि दैलेख आठबिस नगरपालिकाकी ३५ वर्षकी सुकी बडूवाल ३ छोरी र एक छोरा सहित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएकी थिइन। 

चार जनाको शव दैलेख र अछामको सीमा जोड्ने पुलको १५ मिटर माथि माछा मार्न राखेको पासामा भेटिएको प्रहरीले जनाएको छ। दुई छोरी र एक छोरासँगै आमा सुकीको शव फेला परे पनि ७ वर्षकी रजनी बडूवालको शव फेला नपरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

आमा सुकीसँगै छोरा ललित, छोरीहरू कल्पना र सरिताको शव फेला परे पनि रजनीको अहिले पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेश कुमार तेलीले जानकारी दिए। 

प्रहरीले वर्ष ४० का सुकीका श्रीमान् मानबहादुर बडूवाललाई पक्रेको छ। पक्राउ परेका मानबहादुरलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय अछाम लगिएको उनले बताए। 

‘घटनास्थल अछाममा परेकालाई मानबहादुरलाई अछाम नै पठाइएको छ,’ उनले भने, ‘आवश्यक परेको सहयोग दिन्छौ।’

फागुन २६, २०७७ बुधबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।