नयाँ एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगको पत्र : नयाँ नाम र चुनाव चिह्न प्रस्ताव गर्नुस् 

नयाँ एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगको पत्र : नयाँ नाम र चुनाव चिह्न प्रस्ताव गर्नुस् 

काठमाडौं : निर्वाचन आयोगले साबिकको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)पछि दर्ता भएका नेकपा एमाले र माओवादी केन्द्रलाई नयाँ नाम र चुनाव चिह्न प्रस्ताव गर्न भन्दै पत्राचार गरेको छ।

सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि आयोगले आज (मंगलबार) सन्ध्या तिवारी नेतृत्वको एमाले र गोपाल किराँती नेतृत्वको माओवादी केन्द्रलाई पत्र काटेर १५ दिनभित्र नयाँ नाम र चुनाव चिह्न प्रस्ताव गर्न पत्राचार गरेको हो। 

सर्वाेच्च अदालतले गत आइतबार ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टीलाई मान्यता दिई नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण बदर गरेको थियो। 

‘उहाँ (नयाँ एमाले र माओवादी केन्द्र)को नाम कायम रहेन। हकदार पूर्वएमाले र माओवादी केन्द्र नै भए,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने। 

किराँती नेतृत्वको माओवादी केन्द्रका नेता कर्णजीत बुढाथोकीले निर्वाचन आयोगले नयाँ नाम र चुनाव चिह्न प्रस्ताव गर्न भन्दै पठाएको पत्र पाएको जानकारी दिए।  

‘निर्वाचन आयोगले पठाएको पत्र पाएका छौं। तर, यसबारे धारणा बनाइसकेका छैनौं,’ उनले भने। 

उनले पार्टी अध्यक्ष किराँतीलाई कारबाही गरी आफू अध्यक्ष बनेकाे दाबी गरे। ‘उहाँ (किराँती)लाई कारबाही गरेर पुनर्गठन भएको विवरण अद्यावधिक गर्न आयोगमा दिएको निवेदनको निर्णय नआई नाम र चुनाव चिह्न खारेज भएको पत्र आएको छ,’ उनले भने। 

बौद्ध दर्शन र मार्क्सवाद सँगसँगै लैजानुपर्ने विचार राखेपछि २०७७ असोजमा बसेको पोलिटब्युरो बैठकले किराँतीलाई कारबाही गरेको थियो। त्यसपछि मंसिर ८ देखि १० गतेसम्म भएको विशेष भेलाले उनलाई साधारण सदस्य समेत नरहने गरी हटाएको बुढाथोकीले जानकारी दिए। 

फागुन २५, २०७७ मंगलबार २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।