सत्ता साझेदारीबारे प्रचण्डले प्रस्ताव ल्याए,अझै एक दुई दिन सोच्नुपर्छ : काँग्रेस
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता साझेदारीका सम्बन्धमा अझै केही समय हेरेर मात्र निर्णय लिने बताएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता साझेदारीका सम्बन्धमा छलफल गरेपछि काँग्रेसले यस्तो प्रतिक्रिया दिएको हो।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रचण्डले देउवालाई साझेदारीको प्रस्ताव राखेका थिए। ‘उहाँले सभापतिलाई भेटेर प्रस्ताव गर्नुभएको छ। तर,यसबारे भोलि बस्ने सांसदपछि केही दिनमा मात्र निर्णय लिनेछौँ,’शर्माले उकेरासँग भने।
संसद् विघटनपछि विभाजनको मुखमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल पक्षले औपचारिक फुट भई नसकेको अवस्थामा समेत काँग्रेसलाई सत्ता साझेदारीको प्रस्ताव राखेका थिए।
तत्कालीन समयमा काँग्रेसले पार्टीको आधिकारिकता टुङ्गाएर आउन आग्रह गरेको थियो। सर्वोच्च अदालतका २३ फागुनको फैसलासँगै नेकपा एकीकरण अघिकै अवस्थामा पुगेको छ। तर, काँग्रेसले साझेदारीका सम्बन्धमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
फागुन २५, २०७७ मंगलबार २१:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।