माओवादी केन्द्रका सांसदलाई सत्ता पक्षमै सिट व्यवस्थापन
काठमाडौं : संवैधानिक परिषद् सम्बन्धी अध्यादेश टेबल भएकोमा सङ्घीय संसद् सचिवालयमा ३ वटा विरोधको सूचना दर्ता भएको छ। प्रतिनिधि सभामा अवरोधकैबिच टेबल भएको अध्यादेश विरुद्ध ३ वटा विरोधको सूचना दर्ता भएको सचिव गोपालनाथ योगीले जानकारी दिए।
संसद् बैठक भोलि दिउँसो १ बजे बस्दैछ। बैठकको सम्भावित कार्यसूचीमा फागुन २३ गते टेबल भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भोलिको बैठकको कार्यसूचीबाट हटाइएको छ।
‘विरोधकाबिच भए पनि कानुन मन्त्रीले वाचन गरेर संसद्का महासचिवलाई दिएपछि त्यो टेबल भएको मानिन्छ,’ सचिव योगीले भने,‘दुई दिनभित्र विरोधको सूचना दिनुपर्ने भएकाले आज ३ वटा सूचना दर्ता भएका छन्।’ विरोधको सूचना सङ्घीय संसद्ले स्वीकार या अस्वीकार गर्न सक्ने उनले बताए।
सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा सिट व्यवस्थापन गर्ने भएको छ। निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र दुई दल रहेको पत्र पठाएकाले सिट व्यवस्थापन गरिने सचिव योगीले जानकारी दिए।
‘बैठकको सिटमा लेखिएको नेकपा हटाएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र लेखिनेछ,’ उनले उकेरासँग भने अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले नेकपा माओवादी केन्द्रका सांसदलाई सत्तापक्षकै रोहमा सिट व्यवस्थापन गरिनेछ।’
भोलि बस्ने संसद्को कार्यसूची अनुसार अस्ति पेस हुन नसकेका नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश गृहमन्त्री रामबहादुर थापाले पेस गर्नेछन्। नेपाली काँग्रेसले रोष्टम घेराउ गरेपछि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बाहेकका कार्यसूचीमा रहेका अध्यादेश पेस हुन सकेका थिएनन्।
फागुन २५, २०७७ मंगलबार २०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।