महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि थप प्रयत्नको खाँचो : राष्ट्रपति भण्डारी
काठमाडौँ : १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइदैछ। दिवसको नारा महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने रहेको छ। अङ्ग्रेजी महिनाको मार्च ८ मा विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिएको छ।
दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन्।
उनले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरिन्।
शुभकामना सन्देश दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले यस अवसरमा नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने सदीक्षा व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न प्रकार र स्वरूपका लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न सरकारले शून्य सहनशीलताको नीति लिई अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानुनी व्यवस्था गरेको बताएका छन्।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन्।
जर्मनीमा जन्मिएकी कम्युनिस्ट नेतृ क्लारा जेट्किनले महिला श्रमिकमाथिको श्रम शोषणविरुद्ध सङ्घर्ष थालेको स्मरणमा यो दिवस मनाउने गरिएको छ।
क्लारा जेट्किनको नेतृत्वमा सन् १९०८ मार्च ८ का दिन अमेरिकाको सिकागो सहरमा समान काम, समान ज्याला लगायत माग राखेर महिलाले आन्दोलन थालेका थिए। सोही दिनको स्मरणमा सन् १९१० मार्च ८ देखि अहिलेसम्म श्रमिक महिलाले अधिकारका लागि सङ्घर्ष गरेको दिनका रूपमा यो दिवस मनाइँदै आएका छन्।
फागुन २४, २०७७ सोमबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।