प्रतिनिधिसभा बैठक आगामी बुधबारसम्मका लागि स्थगित 

प्रतिनिधिसभा बैठक आगामी बुधबारसम्मका लागि स्थगित 

काठमाडौं : प्रतिनिधिसभा बैठक आगामी बुधबारसम्मका लागि स्थगित भएको छ। 

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद्ले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। 

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश संसदमा पेस गर्न खाेज्दा कांग्रेस सांसद्ले उठेर विरोध गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको हो। 

उक्त अध्यादेश संविधान प्रतिकूल रहेकाले संसदमा पेस गर्न अवरोध गरिएको कांग्रेस सांसद्हरूले बताएका छन्। उनीहरूले अध्यादेश तुरुन्तै फिर्ता गर्नु पर्ने मागसमेत गरेका छन्। 

कांग्रेस नेता एवं सांसद् गगन थापाले प्रतिनिधिसभाको आगामी बैठकमा उक्त अध्यादेश पेस गरिए पुनः अवरोध गर्ने बताए। 

त्यसअघि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएको पार्टीको दाहाल–नेपाल समूहले बैठक बहिस्कार गरेका थिए। 

केपी शर्मा ओली नेतृत्वको सरकार अवैधानिक भएको र उसले ल्याएका अध्यादेश पनि अवैधानिक रहेको भन्दै सांसद्हरूले बैठक बहिस्कार गरेका हुन्। 

सर्वाेच्चले संसद् पुनःस्थापना गरेपछि बोलाइएको संसद्को हिउँदे अधिवेशन तोकिएको समयभन्दा सवा १ घण्टा ढिलो सुरु भएको थियो। बैठक आज बेलुका ५ः१० बजे सुरु भएको थियो।  

 


 

फागुन २३, २०७७ आइतबार १८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।