जन्मदिनको संयोग : ओलीको जन्मदिनमा संसद् ब्युँतियो, नेपालको जन्मदिनमा ने क पा गुम्यो
काठमाडौँ : ने क पा मा बढेको विवादमा अदालतबाट महत्त्वपूर्ण २ आदेश आयो। पहिलो विघटित संसद् सम्बन्धी, दोस्रो निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीको नाम सम्बन्धी।
संसद् विघटन गराएका थिए प्रधानमन्त्री केपी ओलीलेले। अदालतले उनको निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापित भयो। अदालतबाट यो आदेश आउँदा प्रधानमन्त्री ओली जन्मदिन मनाइरहेका थिए।
ने क पा मा विवाद बढेपछि तत्कालीन एमालेका नेता माधव नेपाल पूर्व माओवादी केन्द्रका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल समूहमा सक्रिय छन्।
नेकपाको नाम विवाद त पुरानै हो। तर सर्वोच्च अदालतमा यसको पेशी सरेको स¥यै थियो। अदालतबाट संसद् ब्युँतिएपछि उसले एकाएक फागुन २३ मा प्रतिनिधि सभाको बैठक राखेपछि उसले फागुन २१ मा फैसलाको मिति तोक्यो।
शुक्रवार अदालत बन्द रह्यो। फैसला सर्यो २३ गते। जुन थियो दाहालतिर लागेका माधव नेपालको जन्मदिन थियो। जसरी ओलीले जन्मदिनमा अदालतबाट अप्रिय उपहार पाए नेपालले पनि आफ्नो जन्मदिनमा उस्तै अप्रिय उपहार पाए सर्वोच्चबाट।
ओलीको जन्मदिनमा उनको इच्छा विपरीत संसद् ब्युँतियो। नेपालको जन्मदिनमा उनको समूहले दाबी गरेको ने क पा को नाम सहितको आधिकारिकता त गुम्यो नै ने क पा बन्न भएको सबै एकीकरण प्रक्रिया खारेज भएर दुवै पार्टी पूर्ववत् एमाले र माओवादी केन्द्रमै फर्कियो।
कसरी पाउँछन् नाम
सर्वोच्च अदालतको परमादेशपछि ने क पा एकीकरण अगाडिकै अवस्थामा फर्किए पनि कानुनी जटिलता भने सकिएको छैन। अदालतको आदेश आउनु अगाडि नै निर्वाचन आयोगमा माओवादी केन्द्र र नेकपा एमाले नयाँ दलको रूपमा दर्ता भइसकेको छ।
माओवादी केन्द्र गोपाल किरातीले आफ्नो नाममा दर्ता गराएका छन्। यो पार्टी २०७६ भदौ १५ मा दर्ता भएको थियो। उनी पूर्व माओवादीकै नेता हुन्।
यता नेकपा एमाले सन्ध्या तिवारीको नाममा दर्ता भइसकेको छ। २०७७ साउन २० मा एमाले दर्ता भएको थियो । एमाले दर्ता भएपछि तत्कालीन ने क पा का अध्यक्ष पुष्पकमल दाहाल समूहले ने क पा फुटाउने रणनीति अनुसार केपी ओली समूह आफैँले एमाले ब्युँताउने प्रयास गरेको आरोप लगाएका थिए।
फागुन २३, २०७७ आइतबार १७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।