नेपाल कम्युनिस्ट पार्टी नाम विवाद : सर्वाेच्चले आज फैसला सुनाउँदै 

नेपाल कम्युनिस्ट पार्टी नाम विवाद : सर्वाेच्चले आज फैसला सुनाउँदै 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको नाम विवादबारे सर्वाेच्च अदालतले आज फैसला सुनाउने भएको छ। 

नाम विवादबारे परेको रिटमाथि सर्वोच्चले आजका लागि निर्णय सुनाउने मिति तय गरेको हो। 

निर्वाचन आयोगले तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको पार्टीलाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नामबाट दर्ता गरेपछि आफ्नो पार्टीको नामसँग मिल्दो नाम दिइएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका ऋषि कट्टेलले २०७५ मंसिर २१ मा सर्वाेच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको थियो। 

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा यही फागुन १३ गते उक्त रिटमाथिको सुनुवाइ सकिएको थियो।

सुनुवाइ सकिएसँगै सर्वोच्चले २० गते फैसला सुनाउने मिति तोकेको थियो। तर, त्यस दिन पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा सर्वोच्चसहित देशभरका अदालत बन्द गरिए। त्यसपछि उक्त मुद्दाको फैसला आजलाई सरेको हो। 

फागुन २३, २०७७ आइतबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।