कोरोना खोपको दोस्रो चरणको अभियान आजबाट सुरु हुँदै, प्रधानमन्त्रीलाई खोप लगाएर सुभारम्भ गरिने 

कोरोना खोपको दोस्रो चरणको अभियान आजबाट सुरु हुँदै, प्रधानमन्त्रीलाई खोप लगाएर सुभारम्भ गरिने 
सांकेतिक तस्बिर।

काठमाडौं :  कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोपको दोस्रो चरणको अभियान आजबाट सुरु हुँदैछ।  

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर अभियान सुरु गरिन लागिएको हो। प्रधानमन्त्री ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा खोप लगाउने भएका छन्। 

दोस्रो चरणको अभियानअन्तर्गत १५ वटा हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ। यसका लागि भारतबाट ५० लाख डोज खोप खरिद प्रक्रिया सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

यसअघि सरकारले भारतबाट खरिद गरेको १० लाख डोज र भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप नेपाल ल्याइसकिएको छ। भारतबाट खरिद गरिएकोमध्ये बाँकी १० लाख डोज नेपाल आउने प्रक्रियामै रहेको मन्त्रालयले जनाएको छ। 

यस्तै, नेपालले खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज नेपाल आउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। 

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए। 

फागुन २३, २०७७ आइतबार ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।