पत्रकार महासंघका १२ एसोसिएट संस्थाका संस्थापक अध्यक्ष सम्मानित

पत्रकार महासंघका १२ एसोसिएट संस्थाका संस्थापक अध्यक्ष सम्मानित

काठमाडौं : नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आवद्ध १२ वटा संस्थाका संस्थापक अध्यक्षलाई सम्मान गरेको छ।

विधागत संस्था स्थापना गरी नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्याएको भन्दै एसोसियट प्रदेशले १२ संस्थाका संस्थापक अध्यक्षलाई सम्मान गरेको हो।

सम्मानित हुनेहरूमा चलचित्र समीक्षक समाज नेपालका रमण घिमिरे र दक्षिण एसियाली खेलकुद पत्रकार संघका ईश्वरमान सिंह (मरणोपरान्त) छन्।

यस्तै, पत्रकारिता अनुसन्धान तथा तालिम समाजका श्री आचार्य, एभरेस्ट प्रेस क्लबका शिवप्रसाद खड्का, नेपाल पत्रकार मञ्चका वैकुण्ठप्रसाद भण्डारी, कार्टुनिस्ट क्लब नेपालका अशोकमान सिंह, नेपाल चलचित्र पत्रकार संघका भरत शाक्य, पर्यटन पत्रकार मञ्चका विद्रोही गिरीलाई सम्मान गरिएको छ। 

यसैगरी, अनलाइन पत्रकार संघ नेपालका केपी ढुंगाना, नेपाल खेलकुद पत्रकार मञ्चका सीताराम अग्रहरी, फोटो जर्नालिस्ट क्लबका चन्द्रशेखर कार्की र पत्रकारिता विकास समाजका केदार खड्कालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ। 

सम्मान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका गोविन्द आचार्यले अग्रजहरूको सम्मान गर्ने परम्पराको प्रारम्भ गरेकोमा आयोजकलाई धन्यवाद दिए।

उनले महासंघ निर्वाचनमार्फत नयाँ नेतृत्वको चयनको चरणमा प्रवेश गरिसकेको भन्दै निर्वाचनको समयमा जुन विचार समूहबाट उम्मेदवार बने पनि नेतृत्वमा पुगेपछि उनीहरूसँगै लड्ने साहस बोक्नुपर्ने बताए।

निर्वाचनको बेलामा वैचारिक आधारमा प्रतिस्पर्धा गरिए पनि निर्वाचित भएपछि महासंघको उद्देश्यमा क्रियाशील हुनुको अर्को विकल्प नहुने भन्दै उनले भने, ‘निर्वाचनको बेला जसको टिकट लिएर निर्वाचित भए पनि त्यसपछि प्रेस स्वतन्त्रता र श्रमजीवीको हक रक्षाका लागि तिनै टिकट दिनेविरुद्ध उभिन सक्नेले मात्र महासंघको नेतृत्वमा जाने अभ्यास गर्नुहोला।’

महासंघका उपाध्यक्ष विपुल पोखरेलले पहिलो पटक महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएको र अबको निर्वाचन हिजोको जस्तो कुनै समूह विशेषको मात्र दबदबा हुन नसक्ने बताए।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले महासंघको निर्वाचनै हुन नदिने खेल भइरहेकाले सबै पत्रकार एक ठाउँमा उभिएर त्यसको प्रतिवाद गर्नुपर्ने बताए।

एसोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानाले महासंघको निर्वाचनमा दलगत निकटता छाडेर विवेक प्रयोग गर्न सञ्चारकर्मीलाई सुझाए। यसो गरे महासंघको नेतृत्वमा आउन बालुवाटार, पेरिसडाँडा र बुढानिलकण्ठ धाउने प्रवृत्ति बन्द हुने उनको भनाइ थियो। 

एसोसिएट संस्थाहरूको तर्फबाट बोल्दै समीक्षक समाजका अध्यक्ष यज्ञशले महासंघमा विधागत प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए। केवल निर्वाचनको बेलामा मात्र भेला गर्ने क्रम हटाउनुपर्नेमा उनको जोड थियो।

सम्मानित संस्थापक अध्यक्षहरूको तर्फबाट बोल्दै रमण घिमिरेले महासंघलाई सञ्चारकर्मीहरूको साझा थलो बनाउन जोड दिए।

फागुन २२, २०७७ शनिबार २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।