दार्चुलामा जिप दुर्घटना, चालकसहित तीनजनाको मृत्यु 

दार्चुलामा जिप दुर्घटना, चालकसहित तीनजनाको मृत्यु 

काठमाडौं : दार्चुलामा जिप दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार लेकम गाउँपालिका–६, उचकोटमा आज (शनिबार) बेलुका ५ः१५ बजे ग ३ च १६९३ नम्बरको जिप दुर्घटना हुँदा चालक ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्तको घटनास्थलमै मृत्यु भएको हो। 

शैल्यशिखर नगरपालिका–८, अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको उक्त जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

जिपमा सवार चार जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जनाएको छ। 

घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, ७० वर्षीय  गंगादेवी पन्त, १२ वर्षीय मुकेश पन्त र ७ वर्षीय वसन्त पन्त छन्। 

घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाएको र उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

फागुन २२, २०७७ शनिबार २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।