संसदीय दलको बैठकमा ओलीकाे निर्देशन– प्रतिनिधिसभा बैठकका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुनू 

संसदीय दलको बैठकमा ओलीकाे निर्देशन– प्रतिनिधिसभा बैठकका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुनू 
सांकेतिक तस्बिर।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) सुरु हुने प्रतिनिधिसभा बैठकका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन आफूपक्षीय सांसद्हरूलाई निर्देशन दिएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) बसेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ओली समूहको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि (आइतबार) सुरु हुने प्रतिनिधिसभा बैठकका गतिविधिमा ध्यान केन्द्रित गर्न सांसद्हरूलाई निर्देशन दिएको सांसद् खिमलाल भट्टराईले जानकारी दिए।

प्रतिनिधिसभा बैठक भोलि (आइतबार) अपराह्न ४ बजे बस्दै छ।

सर्वाेच्च अदालतले यही फागुन ११ गते सरकारले गरेको प्रतिनिधिसभा विघटनको फैसला बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेपछि बैठक बोलाइएको हो। 

त्यसअघि केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरेकी थिइन्। उक्त कदमविरुद्ध सर्वाेच्चमा रिट दायर भएका थिए। 

फागुन २२, २०७७ शनिबार १८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।