बालुवाटारमा सुरक्षा परिषद्को बैठक सुरु, लगत्तै मन्त्रिपरिषद् बस्ने
काठमाडौँ : सिंहदरबारमा बस्ने भनिएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा बसेको छ। प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बस्ने भनेर बोलाएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो।
सुरक्षा परिषद् बैठकमा नेपाली सेना, नेपाल प्रहरी सहित तीन वटै सुरक्षा निकायका प्रमुख सहभागी छन्। नियमित भनेर बोलाइएको बैठकका एजेन्डा भने बताइएको छैन। तर, गंभिर सुरक्षा चुनौती रहेको औँल्याउँदै विशेष प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गर्न बैठक बसेको स्रोतले बताएको छ।
सुरक्षा परिषद्को बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने भनिएको छ। नियमित एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्वाहाङफेले जानकारी दिइन।
विप्लव नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा र वार्ता टोली गठनबारे उनले एजेन्डामा नरहेको बताइन। ‘एजेन्डामा नभएको विषयमा पनि छलफल हुनसक्छ, मन्त्री तुम्वाहाङफेले भनिन्, तर, अहिले यो विषय नियमित एजेन्डामा छैन।’
कोरोना महामारी र आफ्नै स्वास्थ्यका कारण प्रधानमन्त्री ओलीले बालुवाटारबाटै राज्य संयन्त्र सञ्चालन गरिरहेका छन्। प्रधानमन्त्री सिंहदरबार नआउँदा देशको प्रशासनिक कामका लागि मुख्य सचिव शंकरदास वैरागी बालुवाटार पुगिरहनु परेको छ।
प्रधानमन्त्री ओलीले एक वर्षको कामको विवरण प्रस्तुत गर्न २०७७ फागुन ३ गते सिंहदरबार पुगेका थिए।
तर, फागुन ३ पछि विराटनगर र हिजो मात्रै कञ्चनपुर पुगे। आज सिंहदरबारमा सुरक्षा परिषद्को बैठक राखेनन्, बालुवाटारमै बोलाए।
फागुन ११, २०७७ मंगलबार १०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।