साझा पार्टीको सरकार बनेपछि ओली, देउवा र दाहाललाई थुन्ने मिश्रको दाबी 

साझा पार्टीको सरकार बनेपछि ओली, देउवा र दाहाललाई थुन्ने मिश्रको दाबी 

काठमाडौँ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पार्टीको सरकार बनेपछि प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा र दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई नख्खु जेलमा थुन्ने चेतावनी दिएका छन्। सोमबार काठमाडौँमा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले भने‘‘विवेकशील साझा पार्टी यो देशको नेतृत्वमा पुग्छ ।

बालुवाटारबाट बालकोट जानु भएका नेतालाई आराम गर्न नख्खु जेल पुराउँछौ। बुढानीलकण्ठबाट बालुवाटार आउने सपना देख्नु भएको होला । हेरौँला । तपाईँ पनि नख्खुमा घाम ताप्न पठाउनेछौँ । उहाँलाई पनि खुम टारबाट नख्खुमा जानुपर्नेछ।’

उनले देशमा सम्पत्ति शुद्धीकरण, अख्तियार, सर्वोच्च रहेको र यी संस्थालाई स्वतन्त्र रूपमा काम गर्न दिने बित्तिकै तिनले काम गर्न थाल्ने दाबी गरे। 

मिश्रले देशमा भ्रष्टाचार बढेकाले थप जेलको सङ्ख्या थप गर्नुपर्ने बताएका थिए। उनले भ्रष्टाचारलाई आफूहरूले जेल हाल्ने दाबी समेत गरे। 

‘प्रधानमन्त्रीका सल्लाहकारले मलाई चेतावनी दिँदै भन्नुभयो, तपाईँ सीमामा बसेर बोल्नुहोस् । म उहाँहरूलाई चेतावनी दिँदै भन्छु, तपाईँहरू संविधानको सीमा नमिची बस्नुस् । तपाईँहरू नियम र कानुनको सीमाभित्र बस्नुस्’, मिश्रले भने।

फागुन ११, २०७७ मंगलबार ००:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।