संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको छ : श्रेष्ठ
ललितपुर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्।
लुःनिभा बाल सरोकार समूहले ललितपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको जोड दिए।
आफूले मन्त्रालय सम्हालेपछि थुप्रै परिवर्तन गरेको दाबी गरे। ‘अलमलमा रहेको शैक्षिक क्षेत्रको टुंगो लगाएका छौं। विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौं। एसइईको गुणस्तर सुधार गर्न संघबाटै एसइई लिने व्यवस्था गरेका छौं,’ उनले भने।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रक्रिया अघि बढेको उनले जानकारी दिए।
समग्र सुदूरपश्चिम प्रदेशको शिक्षा विकासका लागि शिक्षा, विज्ञान प्रविधिमन्त्रीसँग आयोजना गरेको अन्तक्र्रियामा उनले राजधानीको शिक्षा प्रणालीलाई सिकेर सुदूरपश्चिमा प्रयोग गर्नुपर्ने बताए।
उनले भने, ‘तपाईंहरू राजधानीको शिक्षा, शिक्षण पद्धतिको विषयमा अध्ययन गर्न आउनुभएको छ। यहाँको कुरा सिकेर आफ्नो क्षेत्रमा लागू गराउनुस्।’
अन्तरक्रिया गर्न सुदूरपश्चिमको डडेलधुराका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि राजधानी आएका थिए।
फागुन १०, २०७७ सोमबार २२:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।