नेकपाको आधिकारिता विवाद सर्वोच्चको आदेशपछि मात्रै टुङ्गो लाग्ने
काठमाडौँ : निर्वाचन आयोगले नेकपाको आधिकारिता विवाद सर्वोच्च अदालतको आदेशपछि मात्रै टुङ्गो लगाउने तयारी गरेको छ।
सर्वोच्च आदेशले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध परेको रिटको आदेश दिएपछि मात्रै नेकपाको आधिकारिता विवाद टुङ्गो लगाउने तयारी आयोगले गरेको हो।
आयोगले अहिले नेकपाको आधिकारिता विवाद अध्ययन गरिरहेको जनाएको छ। तर, निर्णय दिएको छैन। ‘निर्वाचन आयोगले अदालतको फैसला कुरेको होइन, आयोग स्रोतले भन्यो, अध्ययन गरेर निर्णय गर्दा अदालतको फैसला आइसक्ने सम्भावना छ।’
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ सर्वोच्च अदालतको आदेश कुरेर बसेको भन्ने कुरा शङ्का मात्रै भएको बताउँछन्। ‘दुई तीन भित्र नेकपाको आधिकारिता विवाद टुङ्गो लगाउने तयारी छ, उनले उकेरासँग सर्वोच्चको आदेश कुरेर बसेको भन्ने कुरा शङ्का मात्रै हो, हामीले आदेश कुरेका छैनौ।'
सत्तारुढ नेकपाको दाहाल नेपाल समूहले भने विधि र प्रक्रिया अनुसार निर्णय गर्न आयोगलाई अदालतको आदेश कुर्न नपर्ने बताएको छ। नेकपा दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल आयोगले सर्वोच्चको आदेश कुरेर बस्न नहुने बताउँछन्।
पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णयपछि नेकपा दुई चिरामा विभाजित भएको छ। दुवैले निर्वाचन आयोगमा आ आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी आयोगमा पेस गरेका छन्।
‘आयोगमा बुझाएको दाबी अनुसार निर्णय गर्न आयोग स्वतन्त्र छ, तर उसले सर्वोच्चको आदेश कुरेर बसेको देखिन्छ’ पोखरेलले भने, ‘आयोगको आलटालले शङ्का उब्जाएको छ।’
फागुन १०, २०७७ सोमबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।