शिलालेख तोडफोडबारे अनुसन्धान गर्दै प्रहरी 

शिलालेख तोडफोडबारे अनुसन्धान गर्दै प्रहरी 

दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड भएको छ। माघ १२ गते दाङ देउखुरीको राप्ती नदीमा नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको हो।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ साल मङ्सिर २२ गते शिलान्यास गर्नु भएको पुलको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नु भएको थियो। ८६० मिटर लामो र साढे १० मिटर चौडाइ रहेको पुलमा राखिएको शिलालेख तोडफोड भएपछि प्रहरीले अनुसन्धान थालेको छ। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा शिलालेख तोडफोड र चोरीले विकासका आयोजनाको प्रतिफल समाप्त हुने होइन भनेका छन्। ‘अनि विकासको कामले जनताको मनमा गढेको माया हराउने नि होइन’ शिलालेख तोडफोडबारे मुख्यमन्त्री पोखरेलको प्रतिक्रिया छ। 

जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले तोडफोड भएको जानकारी आएको र अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले केही उच्छृङ्खल समूहले शिलालेख तोडफोड गरेको हुन सक्ने अनुमान गरेको जनाएको छ। 

पुलमा राखिएको शिलालेखमा स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए भने सत्तारुढ नेकपाकै दाहाल नेपाल समूहले प्रधानमन्त्री ओलीले उद्घाटन गर्न लागेको भन्दै विरोध जनाएका थिए। 

फागुन १०, २०७७ सोमबार ०९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।