वार्ताका लागि पक्राउ परेका नेता रिहा हुनुपर्ने विप्लवको सर्त
काठमाडौँ : सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वलाई लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। खानेपानी मन्त्री मणि थापाले विप्लवसँग वार्ताको पहल भइरहेकाले प्रतिबन्ध फुकुवाको तयारी भएको बताए।
‘आजै प्रतिबन्ध फुकुवा गरेर वार्ता टोली बनाउने टुङ्गो भएको छैन उनले उकेरासँग भने, वार्ताको पहल भने भइरहेको छ।’ सरकारले विप्लवमाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएपछि उसले भूमिगत गतिविधि गर्दै आएको छ।
विप्लव नेतृत्वको नेकपाले भने पक्राउ परेका कार्यकर्ता रिहा हुनुपर्ने सर्त राखेको छ। ‘प्रतिबन्ध फुकुवा गरेर वार्ता टोली बनाउँदैमा ढुक्क भएर वार्तामा आउन सकिने अवस्था छैन, विप्लव नेकपाका एक नेताले भने, अदालतले रिहा गर्ने आदेश दिएपछि पुन पक्राउ गर्ने क्रम रोकिनुपर्छ।’
ललितपुरबाट पक्राउ परेका विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोलाको बन्दी प्रत्यक्षीकरण मुद्दामा आज सोमवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यस्तै रुपन्देहीको बुटवलबाट पक्राउ परेका भेषराज भुसालको जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस आजै हुँदैछ।
बास्तोला र भुसालको मुद्दा के हुन्छ त्यसपछि सरकारसँग वार्ता गर्ने प्रक्रियामा जान सकिने तीन नेताले बताए। अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले पुन गिरफ्तार गर्दै आएको छ।
फागुन १०, २०७७ सोमबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।