नेम्वाङको प्रश्न– जनताको बीचमा जाँदा कसरी प्रतिगमन भयो ?
इटहरी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले जनताको बीचमा जाँदा प्रतिगमन भयाे भन्नु गलत भएको बताएका छन्।
मोरङको विराटनगरमा आज (शनिबार) आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘जनताको बीचमा जाँदा कसरी प्रतिगमन भयो ? जनतासँग गएपछि पुनः नयाँ संसद् बन्नेवाला छ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवद्धता गरे अनुसार नै संविधान बनेको र कार्यान्वयनको चरणमा रहेको बताए। ‘केपी ओलीको नेतृत्वमा नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ। अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन,’ उनले भने।
नेता नेम्वाङले संसद् विघटन प्रधानमन्त्रीको अधिकार रहेको बताए। ‘म आफू भन्दिनँ। प्रधानमन्त्रीज्यूमाथि धेरै विश्वास छ। म आफू त भन्दिनँ। म कानुनको विद्यार्थी हुँ। तर, प्रधानमन्त्री भन्नुहुन्छ– संसद् विघटन मेरो अधिकार हो। म कानुनको विद्यार्थी हुँ। म धेरै बोल्दिनँ,’ उनले भने।
एमसिसीको प्रस्ताव संसद्मा प्रवेश गर्न नदिइएको उनले बताए। ‘यस्तो अवस्थामा कसरी काम गर्ने तपाईंहरू आफै भन्नुस्। प्रधानमन्त्रीज्यू भन्नुहुन्छ– जनताभन्दा ठूलो यो देशमा को हो ? उहाँको आकांक्षा छ– जनताको अभिमतले अब निर्णय गर्छ अब के गर्ने भनेर,’ उनले थपे।
यही फागुन १५ गतेभित्रमा सर्वोच्चको फैसला आउने उनले प्रष्ट पारे। आफू कानुनको विद्यार्थी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको विषयमा संसद्मा पनि बोल्न नपाइने तर केही थान पूर्वप्रधानमन्त्रीहरूले सर्वोच्च अदालतको अगाडि बसेको देखेर आफू छक्क परेको बताए।
यी न्यायाधीशले हामीले सोचेजस्तो फैसला गरेनन् भने सर्वोच्चबाट थुतेर ल्याउँछु भनेजस्तै गरेर अगाडि बढ्नु लज्जास्पद भएको उनको तर्क छ।
‘पक्कै पनि साथीहरूले अदालतलाई धम्क्याएको त हैन होला,’ उनले भने, ‘अदालतमा विचाराधीन मुद्दालाई लिएर बाहिर बहस गर्न मिल्दैन। ओलीले भारतीय टेलिभिजनलाई अन्तरवार्ता दिएर नेपालीहरूको शिर उच्च पार्नुभएको छ।’
फागुन ८, २०७७ शनिबार १९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।