दाहाल–नेपाल समूहले मन्त्रीहरू फर्कने भ्रम फैलाए : गृहमन्त्री

दाहाल–नेपाल समूहले मन्त्रीहरू फर्कने भ्रम फैलाए : गृहमन्त्री

काठमाडौँ : नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाको अर्को समूह दाहाल–नेपाल समूहले वर्तमान सरकारमा रहेका केही मन्त्रीहरू उनीहरूको समूहमा फर्कने तयारीमा भनेर भ्रम फैलाएको दाबी गरेका छन्।

‘फुट र गुटवादीहरुले सरकारबाट केही मन्त्री दाहाल–माधव समूहतिर फर्कने भ्रम फैलाइरहेका छन्,’ उनले विराटनगरमा आयोजित ओली समूहको सभामा भने‘ यस्तो भ्रम फैलाउनेहरू हिट्लरकै हालत हुन्छ।’

नेकपाकै  अवसरवादी तथा फुट र गुटवादीले नै असामान्य परिस्थिति सृजना गरेको गृहमन्त्री ‘बादल’ को तर्क छ। उनले भने,‘कुनै बाह्य शक्तिद्वारा हैन आन्तरिक पङ्क्तिबाट नै षडयन्त्र रचियो।’ 

एकताबाट आतङ्कित भएर फुट र गुटवादीहरुले भ्रम फैलाएको उनको तर्क छ। देश नयाँ आन्दोलन तथा नयाँ दिशामा अघि बढिरहेको उनको तर्क छ। नेपालमा विशिष्ट परिस्थिति जन्मिएको तर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको उनले दाबी गरे।

उनले दाहाल–नेपाल समूह पनि निर्वाचन हुन्छ भन्नेमा ढुक्क रहेको तर्क गर्दै भने‘यदि निर्वाचन हुँदैन भन्ने उनीहरू किन चुनाव चिन्ह मागिरहेका छन्?’

 

फागुन ८, २०७७ शनिबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।