प्रजातन्त्रकै खिल्ली उडाउँदै हत्यामा संलग्नलाई ओली सरकारले दियो आममाफी
दिवसका अवसरमा कैद सजाय माफी पाएका ५ सय भन्दा धेरै कैदी बन्दी मध्ये तीन जना पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगी रहेकाहरू छन्।
२०६८ साल पुसमा जिल्ला कारागार चितवनभित्र तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीले कैद सजाय छुट पाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा श्रेष्ठ, मोक्तान र केसी तीन जनालाई आममाफी दिएकोमा नेपाल तरुण दलले आपत्ति जनाएको छ।
तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले बाँकी कैद मिनाहा गरी उनीहरूलाई आममाफी दिइएको प्रति आपत्ति जनाएका छन्।
अध्यक्ष बस्नेतले विज्ञप्ति निकालेर जेल भित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरूलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृत्तिको ढाकछोप गर्ने र अवाञ्छित क्रियाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गइरहेको प्रस्ट भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा ‘सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरूलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरूलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयको विरुद्ध चरणबद्ध रूपमा विरोधका कार्यक्रमहरू गर्न नेपाल तरुण दल केन्द्रीय समिति दलको चितवन जिल्ला समितिलाई यसै प्रेस विज्ञप्ति मार्फत निर्देशन गर्दछ।’ भनिएको छ।
फागुन ८, २०७७ शनिबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।