एनआरएनएले आर्थिक हिनामिनामा संलग्नलाई कारबाही गर्ने
काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ एनआरएनएले आर्थिक अनियमितताबारे सुपरिवेक्षण गर्न समिति गठन गरेको जनाएको छ।
राहत तथा उद्धारका लागि भएका खर्च पारदर्शी बनाउन एनआरएनएले सचिवालयमा छुट्टै संयन्त्र राखिएको बताएको छ।
यसको सुपरिवेक्षण गर्न सचिव आरके शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महिला संयोजक भोमा देवी लिम्बु भएको ३ जनाको समिति गठन गरिएको उसले जनाएको छ।
विदेशमा रहेका नेपालीको राहत तथा उद्धार प्रक्रिया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरूको अभिलेख राख्ने क्रम जारी रहेको गैरआवासीय नेपाली सङ्घका प्रवक्ता डिबि क्षेत्रीले जानकारी दिए।
सङ्घले राहत तथा उद्धारका क्रममा कुनै कमीकमजोरी भेटिए र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने भनेको छ।
सङ्घले हाल सम्म मध्यपूर्वका विभिन्न देशबाट १६५ जनालाई हवाई टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानुनी परामर्श सेवा दिएको उल्लेख गरेको छ।
यस्तै २ हजार ७१३ जनालाई गन्तव्य मुलुकहरूमा खाना तथा बासको व्यवस्था, २४९ जनालाई पुनः रोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३ हजार ४७९ जनालाई दूतावाससँग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरूमा समन्वयात्मक सहयोग पुर्याएको प्रवक्ता क्षेत्रीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
फागुन ६, २०७७ बिहीबार १०:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।