काँग्रेसले प्रस्तावित महाधिवेशनको मितिबारे छलफल गर्दै
काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ। पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले बुधवार बसेको बैठकमा प्रस्ताव गरेका विषयमा आज पनि छलफल हुने भएको छ।
थप गरिएको एक वर्षको अवधिमा पनि चौधौँ महाधिवेशन गर्न नसकेको काँग्रेसले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको अवधि ६ महिनाका लागि थप गर्न केन्द्रीय समितिमा प्रस्ताव गरेको छ।
यस्तै बैठकमा विदेशस्थित नेपाली जनसम्पर्क समितिको अवधि समाप्त भएको मितिले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी थप गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ।
काँग्रेसले फागुन १५ भित्र समायोजन हुन बाँकी रहेका जिल्लाका पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नु पर्ने प्रस्ताव गरेको छ। काँग्रेस बैठकमा २०७८ साउन ६ गते प्रदेश अधिवेशन र भदौ ७, ८, ९ र १० गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।
बैठकमा प्रस्तुत प्रस्तावका विषयमा आज बस्ने बैठकमा छलफल हुने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
फागुन ६, २०७७ बिहीबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।