प्रजातन्त्र दिवसमा दीपावली गर्न सरकारको आव्हान
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ। विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिएको छ।
दिवसका अवसरमा आजदेखि तीन दिनसम्म दीपावली गर्न सरकारले आह्वान गरेको छ। यस अवसरमा देशभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत राष्ट्रिय दिवसका रूपमा मनाउन लागिएको छ।
गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो। सो बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो।
समितिले अनुमोदन गरेअनुसार आजदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो। फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ चैत २६ गते प्रजातन्त्र पुनः स्थापना भएको थियो।
यसैको जगमा विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो। यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित गरेको छ।
फागुन ६, २०७७ बिहीबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।