भृकुटीमण्डपमा बृहत् पुस्तक प्रदर्शनी जारी, व्यावसायी भन्छन्– व्यापार सन्तोषजनक
काठमाडौं : काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा गत माघ २५ गतेदेखि बृहत पुस्तक प्रदर्शनी चलिरहेको छ।
प्रदर्शनीमा पुस्तक कारोबार सन्तोषजनक रहेको व्यावसायीले बताएका छन्।
शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलले अहिले दैनिक पाँच सय जना दर्शक र करिब दुई लाख रूपैयाँ कारोबार भएको बताए।
गत वर्षको प्रदर्शनीको तुलनामा यस वर्ष दर्शक र कारोबार बढे पनि अघिल्ला प्रदर्शनीभन्दा दर्शकको संख्या र कारोबार रकम कम भएको बताउँछन्।
‘लकडाउन हुनुभन्दा एक महिनाअघि गरिएको पुस्तक प्रदर्शनीमा दर्शक संख्या र कारोबार रकमको हिसाबले अहिलेभन्दा कम थियो,’ पौडेलले भने, ‘बजार कोरोनाले थलिएको भए पनि पुस्तक प्रदर्शनी राम्रो भएको छ।’
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ठप्प भएको बजार प्रदर्शनीले चलायमान बनाउन सहयोग गरेको उनको भनाइ छ।
भुँडी पुराण प्रकाशन गृहका सञ्चालक बद्रीप्रसाद ढकाल भने पुस्तक बिक्री कम भएको बताउँछन्। ‘लकडाउन र कोरोनाले गर्दा सबैका आम्दानीका स्रोत गुमेका छन्। क्याम्पसहरू बल्ल खुल्न थालेका छन्। विद्यार्थीहरू अझै आएका छैनन्,’ ढकालले भने, ‘पुस्तक फ्लो सोचेअनुरूप गएको छैन।’
प्रदर्शनीमा जम्मा ६ स्टल
प्रर्दशनीमा ६ स्टल मात्रै राखिएका छन्। त्यहाँ शिखा बुक्स, सांग्रिला बुक्स, इण्डिगो इनक, पाँचपोखरी, ओरिन्टल पब्लिकेसन, भुँडीपुराण प्रकाशन गृह र अनुज बुक्स इन्टरप्राइजेजले स्टल राखेका छन्। ती स्टलमा नेपाली तथा अंग्रेजी पुस्तकहरू राखिएका छन्।
प्रदर्शनीमा ६ वटा स्टल राखिएको भए पनि पाठकले खोजेका सबै किताबहरू रहेको पाँचपोखरीका कर्मचारी आइत तामाङले बताए।
‘स्टलहरूमा उपलब्ध भएसम्मका नेपाली प्रकाशन गृहका पुस्तकहरू राखेका छौं,’ उनले भने, ‘अहिलेसम्म हेर्दा पुस्तक प्रदर्शनी ठीकै चलेको छ।’
पाँचपोखरीका आइत तामाङ भने युवा पाठकले व्यक्तित्व विकाससम्बन्धी पुस्तक रुचाएको बताउँछन्। यस्तै, मदन पुरस्कार प्राप्त कृतिहरू र उपन्यासको बिक्री राम्रो भएको उनको भनाइ छ।
प्रदर्शनीमा जीवनी, उपन्यास, व्यक्तित्व विकासबारे प्रेरणादायी पुस्तक, धार्मिक पुस्तक, कविता, कथा लगायत पुस्तक राखिएका छन्।
पुस्तक व्यावसायीले आयोजना गरेकाे प्रदर्शनी फागुन १० गतेसम्म चल्नेछ।
फागुन ५, २०७७ बुधबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।