त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति दाहाल–नेपाल समूहको आपत्ति
काठमाडौं : त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपालबारे दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ।
गत शनिबार त्रिपुराका मुख्यमन्त्री देवले भारतीय जनता पार्टी (भाजपा)का पूर्वअध्यक्ष एवं गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपा विस्तार गर्ने र सरकार बनाउने बताएको अभिव्यक्ति दिएका थिए।
दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै भाजपा नेताको उक्त अभिव्यक्तिको खण्डन गरेका हुन्।
‘हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्छ,’ नेकपाको लेटरप्याडमा प्रवक्ता श्रेष्ठद्वारा जारी वक्तव्यमा उल्लेख छ।
यस्तो अभिव्यक्तिले दुई छिमेकी मित्र राष्ट्रहरूको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने विज्ञप्तिमा उल्लेख छ।
यस विषयमा भारत सरकार र अमित शाहलाई स्पष्ट पारिदिनसमेत विज्ञप्तिमा आग्रह गरिएको छ।
फागुन ५, २०७७ बुधबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।