खुलामञ्च खुला गर्न चल्यो डोजर 

खुलामञ्च खुला गर्न चल्यो डोजर 

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ। राष्ट्रिय महत्त्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो।

‘राष्ट्रिय महत्त्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरू र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरूको आग्रहमै सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण अन्तिम चरणमा पुगेपछि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ उनले बिस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए।   

‘काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको छ,’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ। त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला।’ 

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रमुख विद्या सुन्दर शाक्यको निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको जानकारी दिए। 

उनले पछिल्लो समय हरेक दिन जसो सडकमा हुने विरोध प्रदर्शन, र्याली , आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरू अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भई महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताए। 

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठुला–ठुला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रको  ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ,’ ज्ञवालीले भने, ‘प्राचीन कालदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै बनाउँछौँ। अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ।’ 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै हिजोसम्म खाली गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिए। ‘हामीले हिजोसम्म खाली गर्न तीन निकायलाई भनेका थियौँ,’ सापकोटाले भने, ‘आज हामीले हटाउन सुरु गर्यौँ ।’ 

फागुन ५, २०७७ बुधबार ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।