बागमती प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित
काठमाडौँ : मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा सहमति नभएपछि बागमती प्रदेशसभाको बैठक आज बिहान साढे ६ बजे सूचना टाँसेर स्थगित गरिएको छ।
हिजो बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
विशेष कारण अर्को सूचना नआएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
बागमती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तारुढ नेकपा दाहाल-नेपाल समूहका प्रदेश सांसदले पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। दाहाल-नेपाल समूहका ४५ जना सांसदले दर्ता गराएको अविश्वास प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो।
प्रस्तावमाथि सहमति नजुटेकाले यसअघि माघ १९ गते बोलाइएको बैठक पनि सूचना निकालेर फागुन ५ गतेसम्मका लागि स्थगित भएको थियो । तर, आज निकालेको सूचनामा भने प्रदेशसभाको अर्को बैठक बस्ने मिति तोकिएको छैन।
फागुन ५, २०७७ बुधबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।