इजलासमै कुटाकुट गर्नेले बुझाए स्पष्टीकरण
काठमाडौँ : जिल्ला अदालत काठमाडौँको इजलासमै कुटाकुट गर्ने शाखा अधिकृत र फाँटका कर्मचारीले बुझाएको स्पष्टीकरण अनुसार आज अध्ययन हुने भएको छ।
शाखा अधिकृत गोकर्ण शर्मा र फाँटका कर्मचारी नेत्र बास्तोलाले हिजो स्पष्टीकरण बुझाइसकेका अदालतका स्रेस्तेदार भीमबहादुर निरौलाले जानकारी दिए।
‘दुवै जनाले कार्यालयमा स्पष्टीकरण बुझाउनु भएको छ, उनले भने, आज अध्ययन गरेर कस्तो कारबाही गर्ने भन्ने टुङ्गो लाग्छ।’ मालपोत कार्यालय डिल्लीबजारलाई १४ नम्बर इजलासबाट भएको आदेशको जानकारी पठाउने विषयमा शर्मा र बास्तोलाबिच सोमबार इजलासमै कुटाकुट भएको थियो ।
न्यायाधीश प्रकाशचन्द्र अधिकारीको इजलासमा भएको घटनाको आन्तरिक छानबिन भइरहेको र उनीहरूको स्पष्टीकरण प्राप्त भएको स्रेस्तेदार निरौलाले बताए। ‘शर्मा र बास्तोलाले बुझाएको स्पष्टीकरण अध्ययन नगरी भन्न मिल्दैन उनले भने, के कस्तो कारबाही गर्ने भन्ने निर्णय आज हुन्छ।’
सोमबार न्यायाधीशकै सामुन्ने शर्मा र बास्तोलाबिच मुक्का हानाहान हुँदा शर्मा घाइते भएका थिए। जिल्ला अदालत काठमाडौँले शर्मा र बास्तोलालाई कारबाही स्वरूप सरुवा गर्ने या अरू नै नसियत दिने स्रोतले बताएको छ।
फागुन ५, २०७७ बुधबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।