भारतको मध्यप्रदेशमा नहरमा बस खस्दा ३८ जनाको मृत्यु
भोपाल : भारतको मध्यप्रदेशस्थित सिधी जिल्लाको रामपुर नैकिन थानाक्षेत्रमा बस नहरमा खस्दा ३८ जनाको मृत्यु भएको छ।
५५ जना यात्रु बोकेर सिधीबाट सतनातर्फ गइरहेको बस आज बिहान स्थानीय समय अनुसार ७ः३५ बजे नहरमा खसेको थियो।
स्थानीय प्रशासनका अनुसार, अहिलेसम्म नहरबाट ३८ जनाको शव निकालिएको छ। नहरबाट सात जनाको जिउँदै उद्धार गरिएको र नहरमा हराइरहेकाको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ। नहरमा हराइरहेका व्यक्तिको खोजीका लागि गोताखोर खटिएका छन्।
बस चालक भने नहरबाट पौडिएर ज्यान बचाउन सफल भएका छन्।
२२ फिट गहिरो उक्त नहरमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकालिएको थियो।
बाटो साँधुरो भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ।
बिबिसी
फागुन ४, २०७७ मंगलबार १६:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।