भागरथी बलात्कार–हत्या अनुसन्धान निर्मलाजस्तो नहोला : गृहमन्त्री
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्या घटनाको अनुसन्धानको अवस्था कञ्चनपुरकी किशोरी निर्मलाको झैँ नहोला भन्ने आशा व्यक्त गरेका छन्।
भागरथी घटनाको अनुसन्धानबारे ध्यानाकर्षण गराउन मन्त्रालय पुगेको सर्वोच्च अदालत, बार एसोसिएसन, महिला समितिको टोलीसँग उनले प्रहरी आरोपी नजिक पुगेको दाबी गरे।
थापाले सरकार घटनाको अनुसन्धानमा गम्भीर रहेको बताएका थिए। प्रतिनिधि टोलीले भागरथीको अनुसन्धान निर्मलाझैँ नहोस् भनेर ध्यानाकर्षण गराउँदा उनले‘ भागरथीको केस निर्मलाको जस्तो नहोला’ भनेका थिए।
उनले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको दाबी गरेका थिए।
विद्यालयबाट घर फर्कनेक्रममा हराएकी किशोरी भागरथीको शव फेला परेको १० दिन नाघिसक्यो। तर आरोपी फेला परेका छैनन्। गृहमन्त्री झैँ अनुसन्धानमा खटिएका प्रहरीले समेत घटनामा संलग्नको पहिचान भइसकेको तर हिजोको दिनमा झैँ अनुसन्धानमा कुनै त्रुटि नहोस् भनेर प्रमाण परिपक्व बनाउन समय लागेको दाबी गर्ने गरिरहेका छन्।
फागुन ४, २०७७ मंगलबार १५:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।