‘प्रदेश सरकारहरू विरुद्धको अविश्वास प्रस्तावमा पार्टी र जनताको हितमा निर्णय गरिनेछ’
इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश सरकारहरूविरुद्ध परेको अविश्वासको प्रस्तावमा पार्टी र जनताको हित हेरेर निर्णय गरिने बताएका छन्।
इटहरीकाे पाथीभरा एडभर्टाइजिङ प्रालिको सातौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।
प्रदेश १ र बाग्मती प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका मुख्यमन्त्री नेतृत्वको सरकारविरुद्ध नेकपाकै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
दुवै प्रदेशमा कांग्रेस निर्णायक अवस्थामा छ।
नेता कार्कीले पार्टी केन्द्रीय समितिको बैठकपछि अविश्वासको प्रस्तावबारे धारणा बनाइने बताए।
कांग्रेस केन्द्रीय समिति बैठक भोलि पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्दैछ।
नेकपाको शक्ति संघर्षको कारण देश बर्बादीतर्फ गएको नेता कार्कीको बुझाइ छ। अदालतको निर्णयलाई आफूहरूले स्वीकार्ने बताउँदै उनले निर्वाचनको बाटोमा लाग्नु पनि उपयुक्त हुने तर्क गरे।
कांग्रेस निर्वाचनदेखि नभाग्ने भन्दै कार्कीले संसद् पनि नरहने र निर्वाचन पनि नहुने अवस्था आए कांग्रेसले थप कदम चाल्ने चेतावनी दिए।
कांग्रेसले देशलाई नारामा हैन, वास्तविक विकासको बाटोमा डोर्याउन चाहेको उनले बताए।
‘कांग्रेस निर्णायक भूमिका निर्वाह गरेर देशलाई सही दिशा दिन चाहन्छ। मुलुक अस्थिरतातर्फ जाने बाटोबाट रोक्न हामी तत्पर छौं,’ उनले भने।
फागुन ४, २०७७ मंगलबार १४:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।