दाहालको प्रष्टीकरण– प्रधानमन्त्री पदको लोभले संघर्षको नेतृत्व गरेको होइन

दाहालको प्रष्टीकरण– प्रधानमन्त्री पदको लोभले संघर्षको नेतृत्व गरेको होइन

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पद पाउन संघर्षको नेतृत्व गरेको भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्। 

चितवनको भरतपुरमा निर्माणाधीन सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘यो भ्रम कसैलाई नपरोस्, प्रचण्डले यो संघर्षको नेतृत्व थालेको प्रधानमन्त्री पाउन हैन,’ उनले भने।

उनले अहिलेको संकट समाधान गर्न प्रतिपक्ष पार्टीहरूसहित संयुक्त आन्दोलन गर्ने प्रयास भइरहेको बताए।  ‘मैले शेरबहादुरजी, रामचन्द्रजी र जसपाका नेताहरूसँग कुरा गरिराखेकै छु। संयुक्त आन्दोलन भए चाँडो छिनोफानो हुन्छ,’ उनले भने ।

उनले संसद् पुनस्स्थापना नभए देश अराजकताको भूमरीमा फस्ने बताए। अहिलेकै स्थिति चुनाव भए देशमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुने उनको दाबी छ। 

‘संसद् पुनस्स्थापना हुन्छ । भएन भने के हुन्छ, हाइपोथेसिसमा नजाऊँ,’ उनले भने, ‘यस्तो भए नेपाली जनता चुप लागेर बस्दैनन्। कतै न कतैबाट आन्दोलन हुन्छ।।’

उनले आफू शान्तिपूर्ण आन्दोलनमै रहने प्रस्ट्याए।

फागुन ४, २०७७ मंगलबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।