जुलुस र भीड देखाएर गलत कामलाई सही स्थापित गर्न नखोजौं : देउवा 

जुलुस र भीड देखाएर गलत कामलाई सही स्थापित गर्न नखोजौं : देउवा 

भैरहवा : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जुलुस र भीड देखाएर संविधान विघटनको विषयलाई आफू अनुकूल व्याख्या नगर्न सरकारलाई आग्रह गरेका छन्। 

नेपाली कांग्रेस, रूपन्देहीले आज (सोमबार) भैरहवामा आयोजना गरेको विरोधसभामा सभापति देउवाले संसद् विघटनको विषय अदालतमा विचाराधीन रहेकाले जुलुस र भीड देखाएर अदालतलाई नै प्रभावित पार्ने गरी विचार नराख्न केपी शर्मा ओली नेतृत्वको सरकारलाई आग्रह गरेका हुन्। 

अदालतले जुलुस र भीडको आधारलाई नमानी विद्यमान संविधान र कानुन अनुसार फैसला गर्ने उनले विश्वास व्यक्त गरे। 

‘जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानुन ? जनता देखाएर जे मन लाग्छ त्यही निर्णय गर्दै गए भैगो नि,’ उनले भने। 

सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले अहिल्यै धारणा नबनाउने बताए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको टिप्पणी गरे। 

उनले भने, ‘अदालतमा विचाराधीन मुद्दामा हामी नबोलौं। अदालतको फैसला आएपछि निर्णय गरौंला। तर, प्रधानमन्त्री ओलीले जे गरिरहनुभएको छ, त्यो ठीक छैन। उनको त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक हो।’

देउवाले कम्युनिस्टहरूको झगडाले कांग्रेसमा समेत समस्या सुरु भएको बताए। उनले जनताको अधिकार स्थापित गराउन राणा, पञ्चायत हटाएको कांग्रेसले कम्युनिस्ट सरकारलाई पनि हटाएरै छाड्ने बताए। 

उनले निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गरे। ‘निर्वाचन आयोग किन चुपचाप छ ? कुनै पनि संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गराउनै पर्छ। तर, आयोगलाई मतलबै छैन। यसले आयोगमाथि शंका सृजना भएको छ,’ उनले भने, ‘आयोगले अदालतको निर्णय पर्खिने होइन। पछि अदालतले निर्वाचन नगर भने स्थगित गर्ने हो।’

सभामा कांग्रेस लेखा समिति सभापति तथा पूर्वमन्त्री भरतकुमार शाहले प्रधानमन्त्री ओलीले जुलुसको लागि मान्छेहरू ल्याएर प्रदर्शन गराइरहेको आरोप लगाए। 
उनले भने, ‘बुटवल, दरबारमार्ग र धनगढीमा रेडिमेड मान्छेहरू जम्मा गरियो। जहाँ पनि तिनैलाई सभा स्थलमा पुर्याउने गरेको देखिएको छ।’
शाहले तीन वर्षसम्म भूमिहीन सुकुम्बासीको चिन्ता नगरेको नेकपा सरकारले निर्वाचनको मिति घोषणा गरेर लालपूर्जा बाँड्ने प्रक्रिया थालनी गर्नु नौटंकीसिवाय केही नभएको टिप्पणी गरे।
संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका ७७ जिल्लामा विरोधसभा गरेको छ। 

फागुन ३, २०७७ सोमबार १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।