राष्ट्रपति नेकपा गुटबन्दीको नाइके हुनु दुःखद् : डा. कोइराला 

राष्ट्रपति नेकपा गुटबन्दीको नाइके हुनु दुःखद् : डा. कोइराला 

धरान : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो गरिमामय संस्थालाई दुरुपयोग गर्दै पार्टी गुटबन्दीको नाइके हुनु दुःखद् भएको बताएका छन्। 

नेपाली कांग्रेस, सुनसरीले धरानमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिले पदको गरिमा जोगाउन नसकेको बताएका हुन्। 

संसद् विघटनबारे कांग्रेसको धारणा नआएको गुनासोको जवाफ दिँदै डा. कोइरालाले यसबारे कांग्रेस प्रष्ट भएको बताए। पार्टीको केन्द्रीय समितिले संसद् विघटनलाई असंवैधानिक कदम भनिसकेकाले यसमा कांग्रेस प्रष्ट भएको उनको भनाइ थियो। 

केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले वैशाख १७ मा निर्वाचन गर्न नसक्ने उनले बताए। 

उनले सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको धारणा राखे। 

प्रधानमन्त्रीको बहुमत भए पनि संसद् विघटन गर्न नपाउने संविधानमा व्यवस्था रहेको उनले दाबी गरे। त्यसैले संसद् पुनःस्थापना हुने उनको भनाइ छ। 

संसद् विघटनविरुद्ध कांग्रेसले आज देशभरका ७७ जिल्लामा विरोधसभा आयोजना गरेको छ। 

फागुन ३, २०७७ सोमबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।