‘प्रधानमन्त्री र मन्त्रीहरूलाई कुर्सीमा बस्ने नैतिक आधार छैन, झिटिगुन्टा व्यवस्थापन गर्नू’ 

‘प्रधानमन्त्री र मन्त्रीहरूलाई कुर्सीमा बस्ने नैतिक आधार छैन, झिटिगुन्टा व्यवस्थापन गर्नू’ 

भैरहवा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री र मन्त्रीहरूलाई कुर्सीमा बस्ने नैतिक आधार नरहेको बताएका छन्।

नेपाली कांग्रेस, रूपन्देहीले आज (सोमबार) भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पार्टी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका खाँणले प्रधानमन्त्री तथा मन्त्रीहरूको कुर्सीमा बस्ने नैतिक आधार गुमेकाले उनीहरूलाई आफ्ना झिटिगुन्टा व्यवस्थापन गर्न सुझाएका हुन्। 

सरकारले तीन वर्षमा जनताले महसुस गर्ने गरी कुनै पनि काम नगरेकाले प्रधानमन्त्री तथा मन्त्रीहरूले सरकारमा बसिरहनुको औचित्य नभएको उनले जिकिर गरे।

नेता खाँणले भने, ‘कम्युनिस्ट सरकारले जनतालाई रुन पनि दिएको थिएन। र, हाँस्न पनि दिएको थिएन। तर, अब जनता होइन कम्युनिस्टको रुने दिन आयो।’ 

संसद् विघटनविरुद्ध कांग्रेसले आज देशभरका ७७ जिल्लामा विरोधसभा आयोजना गरेको छ। 

कम्युनिस्ट सरकारले निरन्तररूपमा संविधानमाथि प्रहार गरिरहेको नेता खाँणको आरोप छ।

संविधानमाथि प्रहार गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिस्ट सरकार नभइ कम्युनिस्ट राज्य व्यवस्था ल्याउन खोजेको खाँणले बताए।

फागुन ३, २०७७ सोमबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।