डा.उपाध्यायद्वारा लिखित उपन्यास ‘कफी लभ’  

डा.उपाध्यायद्वारा लिखित उपन्यास ‘कफी लभ’  

कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अवरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ।

देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँच जना नेपाली विधार्थीबिचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरूको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ। 

पुस्तक विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र वर्तमान नेपाली समाजको अवस्था यसले छर्लङ्ग पारेको बताए।

गीत लेखनबाट कीर्तिमानी कायम गरेका डा. उपाध्यायको उपन्यास पनि त्यत्तिकै पठनीय भएको उनको भनाई छ। 

अग्रज आख्यानकार भुवनहरि सिग्देलले यो उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए।

समकालीन पुस्तालाई यो उपन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र प्रौढ पुस्ताले आफ्ना कलेजका दिनहरू स्मरण गर्ने पनि उनले बताए।

आख्यानकार डी. आर उपाध्यायले यो पुस्तक लेख्दा आफू २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीको सङ्गतमा रही उनीहरूको प्रेम भावलाई पुस्तकमा समेटेको बताए। यो पुस्तक तन्नेरी मनहरूसँग सामीप्य रहेको र सबै पुस्ता एवम् वर्गको भाव यसमा समेटेको पनि उनले जानकारी गराए।

पुस्तकको समीक्षा गर्दै कवि हेम प्रवासले तृतीय पुरुषमा लेखिएको यो उपन्यास संवाद शैलीको भएको बताए। उपन्यास पढ्न थालेपछि उपन्यास भित्रका पात्रहरूको यात्रा र उनीहरूबिच अब के होला भन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै नहुने उनको भनाई छ। 

यस्तै सङ्गीतकार सन्तोष श्रेष्ठले पुस्तक पढ्दा आफूलाई एउटा सफल चलचित्र हेरेको महसुस हुने सुनाए।

गायक तथा सङ्गीतकार सागर शरद अधिकारीले राम्रा गीत लेखेर विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय आख्यान लेखनमा पनि त्यत्तिकै प्रभावशाली भएको बताए।

पुस्तकका सम्पादक तथा गीतकार सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेर भन्दा आधा उमेरमा झरेर आख्यानकार डी आर उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रूपमा पुस्तकमा उतारेको बताए।

घटना, स्थान, परिवेश र संवादलाई यथार्थपरक रूपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने पनि उनले बताए। २४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ।

फागुन ३, २०७७ सोमबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।