दाहाल-नेपाल समुहले फागुन ५ देखि २१ सम्म गर्ने विरोधका कार्यक्रम सार्वजनिक 

दाहाल-नेपाल समुहले फागुन ५ देखि २१ सम्म गर्ने विरोधका कार्यक्रम सार्वजनिक 

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समुहले अर्को चरणको आन्दोलन घोषणा गरेको छ।

पार्टी कार्यालय पेरिसडाडाँ पत्रकार सम्मेलन गरेर फागुन ५ गतेदेखि १२ गतेसम्मको अर्को चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको हो। 

नेकपा दाहाल-नेपाल समुहका प्रदेश कमिटीले जिल्ला जिल्लामा विरोध प्रदर्शन गर्ने नेता योगेश भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार विरोध प्रदर्शन जिल्ला सदरमुकाम या पायक पर्ने ठाउँमा हुनेछ। फागुन ६ गते प्रतिगमन, भ्रष्टाचार र महंगीको विरोधमा काठमाडौंको टुडिखेल वरीपरी मानव साङलो प्रदर्शन हुनेछ। 

टुडिखेल वरीपरी दिउँसो ४ बजेदेखि ५ बजेसम्म एक घण्टा मानव साङलो हुने भट्टराईले जानकारी दिए। फागुन ७ गते देशभरका सबै पालिकाका वडा स्तरमा विरोध प्रदर्शन हुनेछ।

आन्दोलनका कार्यक्रम अन्तर्गत नै नेकपा दाहाल-नेपाल समुहले ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रका पक्षमा हस्ताक्षर संकलन गर्ने छ। 

फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध हुने वृहत अन्तरक्रिया कार्यक्रममा अन्दोलनमा रहेकाहरुको प्रतिनिधित्व हुने नेता भट्टराइले बताए।

उनका अनुसार फागुन ९ गते महिला हिंसा, बलात्कार विरुद्ध देश व्यापी महिलाहरुको प्रदर्शन हुनेछ भने फागुन १२ गते चितवनमा र २१ गते दाङमा ठुलो विरोध प्रदर्शन हुनेछ। यस्तै खालको प्रदर्शन जनकपुर र नेपालगंजमा गर्ने भनिएपनि मिति भने तोकिएको छैन। 

फागुन १४ गते काठमाडौंमा युवाहरुको नेतृत्वमा वृहत विरोध र्याली आयोजना गर्ने भट्टराईले बताएको छ।   
 

फागुन २, २०७७ आइतबार १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।