संघीय गणतान्त्रिक लोकतन्त्र धरापमा जाने हो कि भन्ने खतरा पैदा भयाे : दाहाल 

संघीय गणतान्त्रिक लोकतन्त्र धरापमा जाने हो कि भन्ने खतरा पैदा भयाे : दाहाल 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौं सहिदको बलिदानपछि लेखिएको संविधान धरापमा पर्ने खतरा देखिएको बताएका छन्। 

‘जनयुद्ध दिवस’का अवसरमा काठमाडौंमा आज (शनिबार) बर्दियाकाे बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदको बलिदानपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा निम्तिएको बताएका हुन्। 

उनले भने, ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ। कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौं सहिदहरूले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ।’

‘जनयुद्ध’ सुरु भएकै दिन ‘जीवनगाथा’ सार्वजनिक कार्यक्रम आयोजना गरेकोमा उनले बारबर्दिया नगरपालिकालाई धन्यवाद व्यक्त गरे।  

‘जीवनगाथा’मा बारबर्दियामा ‘जनयुद्ध’का क्रममा सहिद भएका, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइतेहरूको जीवनगाथा समेटिएको छ। 

अध्यक्ष दाहालले समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि पुस्तकले प्रेरणा दिने विश्वास व्यक्त गरे।
 

फागुन १, २०७७ शनिबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।