भागरथी प्रकरण : अझै शव उठेन, जटिलतातिर अनुसन्धान
काठमाडौँ : किशोरी भागरथी भट्टको बलात्कार र हत्या भएको एक साता कटे पनि प्रहरीले आरोपी पहिचान गर्न सकेको छैन।
उनको शव फेला परेपछि प्रहरीको विशेष टोली अनुसन्धानमा छ। तर अनुसन्धान सफल हुन सकेको छैन। प्रहरीले आरोपी निकट पुगेको दाबी गर्न छाडेको छैन। तर विश्वसनीय आधार देखिन्न। प्रहरीले प्राविधिक अनुसन्धान गरे पनि आरोपीसम्म पुग्ने प्रमाण फेला परेको देखिएन।
आरोपी पक्राउ नपरी परिवारले भागरथीको शव उठाउन मानेको छैन। उनको शव जिल्ला अस्पतालको शव गृहमा छ। गत शुक्रवार विद्यालयबाट घर फर्कनेक्रममा हराएकी भट्टको शव दोस्रो दिन फेला परेको थियो।
पोस्टमार्टम रिपोर्टमा उनको बलात्कार समेत भएको खुलेको थियो। प्रहरीले उनी अध्ययनरत विद्यालयका विद्यार्थी , शिक्षक, आफन्त लगायतसँग सोधपुछ गरेको थियो। भागरथीको मोबाइलको लोकेसन लगायतको प्राविधिक परीक्षण भए पनि आरोपीसम्म पुग्न सकिने तथ्य अझै बरामद हुन नसकेको अनुसन्धान स्रोतले बतायो।
बढ्दो दबाब
प्रहरी अनुसन्धान निष्कर्षमा पुगेको छैन। महिला हिंसा विरुद्ध आन्दोलन बढ्दो छ। मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेका छन्। राजनीतिक दलहरूले आरोपी पक्राउ गरी कानुनी दायरामा ल्याउन दबाब दिइरहेका छन्।
जटिलतातिर अनुसन्धान
प्रहरीले सुरु गरेको प्राविधिक अनुसन्धानको नतिजा उपलब्धिमूलक हुन सकेको छैन। मोबाइल लोकेसन, मोबाइलमा रहेको कल विवरणका आधारमा अनुसन्धानको सहयोगी कुनै जानकारी पाइन्छ भन्ने आसमा थियो प्रहरी। तर दुवै उपलब्धिमूलक हुन सकेन। अहिले प्रहरी सो क्षेत्रमा सो समयमा सक्रिय हुनसक्ने मोबाइलको विवरणहरू खोतल्ने प्रयास गरिरहेको छ।
यो विधि काठमाडौँमा तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्याको अनुसन्धानमा उपयोग भएको थियो। शहरी क्षेत्र र धेरै विटिएसका कारण निश्चित समयमा निश्चित क्षेत्रमा सक्रिय मोबाइल नम्बर पहिल्याउन सहज भए पनि पहाडी भूभाग जहाँ निश्चित टावर मात्र नहुनुहुँदा सो अनुसन्धान प्रक्रिया पनि सहज नभएको अनुसन्धानको जानकार स्रोत बताउँछ।
भागरथीको शवबाट सङ्कलन गरिएको 'भेनाइनल स्वाब'को काठमाडौँमा परीक्षण भइरहेको छ। नतिजा आइसकेको छैन।
एकान्त घटनास्थल, प्रत्यक्षदर्शी नहुनु, विद्यालयबाट घर जाँदा कुनै शङ्कास्पद व्यक्ति पछि लागेको नदेखिनु, मोबाइलमा शङ्कास्पद विवरण फेला नपर्नु लगायतका जटिलताले भागरथी हत्या र बलात्कारकोअनुसन्धान गति सुस्त देखिन्छ।
'केही क्लुको विश्लेषण प्रयास जारी छ तर अनुसन्धानको उपलब्धि नतिजा योग्य भइसकेको छैन,' अनुसन्धान स्रोतले भन्यो' प्रत्यक्षदर्शीको अभाव, प्राविधिक प्रमाणको अभावले अनुसन्धान लम्बिएको हो। केही पाटो प्रस्ट भएपछि अनुसन्धानले गति लिन्छ।'
फागुन १, २०७७ शनिबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।