नेपाल भारत सीमामा सशस्त्र प्रहरीमाथि आक्रमण
पर्सा - भारतीय नागरिकले नेपाली भूमिमा प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। पर्साको जगनाथपुर नगरपालिका औरिया खोलामा बालुवा निकाल्दै गरेका भारतीयहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन्।
नेपाल भारत सीमा दशगजाको औरिया खोलामा बालुवा निकाल्दै गरेका ७०/८० जना भारतीयको आक्रमणबाट दुई जना सशस्त्र प्रहरी घाइते भएका छन्। सशस्त्र प्रहरी महेश प्रसाद यादव र आयुस राय यादव घाइते भएका हुन्।
दुवै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। भारतीयहरूले बालुवा निकाल्ने साबेलले हान्दा महेशको हात भाँचिएको छ भने आयुसको बायाँ काँधमा चोट लागेको छ।
घाइते महेशलाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ। भारतीयले आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीले बल प्रयोग गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए।
सशस्त्र प्रहरीले बल प्रयोग गरेपछि भारतीय नागरिक भागेका छन्। आक्रमण गरेर भागेकाहरूलाई पक्राउ गरेर बुझाउन सशस्त्र प्रहरीले भारतीय समकक्षीलाई आग्रह गरेको अर्यालले बताए। ‘भागेका भारतीय नागरिकलाई पक्राउका लागि सहयोग गर्न भारतीय समकक्षीसँग कुरा भइसकेको छ, उनले उकेरासँग भने, ‘पक्राउ गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।’
माघ ३०, २०७७ शुक्रबार १४:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।