'खाने तेलको बजार सरकारको नियन्त्रणमा छैन'
काठमाडौँ - सरकारले खाने तेलको बजार नियन्त्रण बाहिर गएको बताएको छ।
कच्चा पदार्थको मूल्य बढेको भन्दै खाने तेलको भाउ बढाएका तेल उद्योगीहरूले अहिले बढेको भाउ नघट्ने बताएका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमै पुगेर उद्योगीहरुले कच्चा पदार्थको भाउ बढ्दै गएकाले तेलको मूल्य बढाउनु पर्ने बताएपछि बजार नियन्त्रण बाहिर गएको विभागले बताएको छ।
नेपालमा तेलका लागि अर्जेन्टिनाबाट आयात हुने सोया र सनफ्लावरको भाउ बढिरहेको छ। कच्चा पदार्थ ल्याउने देशमै महँगो भएपछि नेपालमा महँगो पर्ने उद्योगीको तर्क छ। विभागले गरेको छलफलमा उनीहरूले यस्तो तर्क गरेको महानिर्देशक नेत्र सुवेदी बताउँछन्।
‘तेलको बजार हाम्रो नियन्त्रणमा रहेन’, उनले उकेरासँग भने, ‘कच्चा पदार्थको मूल्य बढ्ने बित्तिकै तेलको भाउ बढ्छ।’ उद्योगीहरूले एक महिनामा फेरी तेलको भाउ बढाउने जानकारी दिएकाले बजार नियन्त्रण बाहिर गएको सुवेदीले बताए।
खाने तेलको मूल्य अहिले २० देखि २५ प्रतिशतसम्म बढेको छ। यो उद्योगीले बढाएको मूल्य हो। बजारमा उपभोक्ताले खरिद गर्दा वृद्धिको प्रतिशत बढ्ने उनले बताए। स्वदेशी उत्पादन कम र माग बढ्दो भएकाले पनि भाउ महँगो भएको सुवेदीले बताए।
बजारमा डन्डीको भाउ भने घटेको छ। डन्डीको मूल्य ७५ प्रतिशतसम्मले घटेको विभागले बताएको छ। डन्डीको मूल्य आयात हुने देश भारतमा घटेपछि नेपालमा पनि घटेको महानिर्देशक सुवेदीले जानकारी दिए।
आयात गर्ने देशमा सस्तो हुँदा सस्तोमा पाइने र महँगो पर्दा महँगो नै पर्ने भएकाले नेपाली बजार विभागको नियन्त्रण बाहिर गएको छ।
माघ ३०, २०७७ शुक्रबार १०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।