आज 'सोनाम ल्होसार' विभिन्न कार्यक्रम गरेर मनाइँदै,
काठमाडौँ : तामाङ, शेर्पा, ह्योल्मो लगायतका आदिवासी जनजातिहरूको मुख्य पर्व सोनाम ल्होसार एवं नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइदैछ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु भएको छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
यस वर्ष आज (शुक्रवार) मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छिन्।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको पालन र रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबिचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
माघ ३०, २०७७ शुक्रबार ०७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।