उकेरामा आज : प्रणय दिवसमा नबिकेको गुलाफदेखि ट्रमाका निर्देशकको पैसा अफरसम्म 

उकेरामा आज : प्रणय दिवसमा नबिकेको गुलाफदेखि ट्रमाका निर्देशकको पैसा अफरसम्म 

काठमाडौं : राज्य विरुद्धको कसुरको आरोपमा आज पक्राउ परेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री साढे ५ घण्टा हिरासतमा बसेर छुटिन्।

झाँक्री पक्राउको विरोधमा नेकपाको दाहाल–नेपाल समूहसँगै नेपाली कांग्रेसले पनि विरोध जनायो। कांग्रेसका कतिपय नेताहरूले सामाजिक सञ्जालमा झाँक्री पक्राउको विरोध गर्दै रिहाइको मागसमेत गरे। 

आजै काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लु भेटिएको छ। नगरपालिकाको वडा नम्बर १ मा घरमा पालिएका हाँसमा बर्ड फ्लुको संक्रमण देखिएको हो। 

गत माघ १७ गते उक्त नगरपालिकाको वडा नम्बर ७ मा बर्ड फ्लु देखिएको थियो। 

यसैगरी, आजै चार कम्युनिस्ट पार्टीहरूको रणनीतिक संयुक्त मोर्चा घोषणा भएको छ, जसमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन्। 

मोर्चाले क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने र जनजीविकाको समस्या समाधान गर्न संघर्ष गर्ने बताइएको छ। 

यी थिए, आज देशभर घटेका मुख्य घटना। 

उकेराले यससँगै आज विभिन्न समाचार प्रस्तुत गर्याे। 

उकेराका टप पाँच

प्रणय सप्ताह चलिरहँदा उकेराले आज बिहानै प्रणय दिवसमा गुलाफको फूल नबिकेको समाचार प्रस्तुत गर्याे। 

अघिल्लो वर्ष दुई लाख बिक्री भएको गुलाफको फूल यो वर्ष त्यसको आधा पनि नबेचिएको फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए।

‘बजारबाट विवरण आउन त बाँकी छ,’ उनले उकेरासँग भने, ‘तर, लाखभन्दा बढी बिक्री भएको देखिएन।’

प्रेम दिवसमा कोरोनाको असर : बिकेन प्रेमको प्रतीक गुलाफ

त्यसपछि हामीले आजको जल्दोबल्दो इस्यु दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले प्रहरीलाई दिएको बयानबारेको समाचार प्रस्तुत गर्याैं। 

राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा पक्राउ परेकी उनले राष्ट्रपतिप्रति सम्मान रहेको बयानमा उल्लेख गरेपछि हिरासतमुक्त भएकी हुन्। 

महानगरीय प्रहरी अपराध महाशाखामा उनले 'सम्मानित राष्ट्रपतिप्रति मेरो हिजो पनि सम्मान थियो, आज पनि छ र भोलि पनि रहनेछ' भनेर लिखित बयान दिएकी छन्।

'बयानमा उहाँले राष्ट्रपतिप्रति सम्मान रहेको बताएकाले आजै रिहा गरियो,' महाशाखा प्रमुख एसएसपी दीपक थापाले भने।

राष्ट्रपतिप्रति सम्मान छ भनेपछि छाडियो रामकुमारीलाई

हाम्रो अर्काे सामग्री पनि नेकपा नेत्री झाँक्रीबारेकै थियो। सामग्री थियो– झाँक्री पक्राउ पर्नुको टिप्पणी। 

उक्त टिप्पणीमा झाँक्री पक्राउ पर्नुको संकेतबारे बताइएको छ। 

यो प्रारम्भ मात्र हो। अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुनको प्रेत जीवित रहेसम्म लेखेको र बोलेको आधारमा प्रहरी भ्यानमा कोचिएर हिरासतमा पुग्नुपर्ने रामकुमारीहरूको सूची लामै छ। हिरासत जान तयार बसे हुन्छ ! झोला ठिक्क पारे हुन्छ !

रामकुमारी पक्राउ ‘ट्रेलर’ मात्रै हो, अरुले पनि झोला ठिक्क पारे हुन्छ !

उकेराले आजै एक्सक्लुसिभ सामग्री पनि प्रस्तुत गर्याे। राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले उकेराकर्मीलाई पैसा अफर गरेको बारे। 

बिग्रिएको मेसिनबारे बुझ्न खोज्दा त्यहाँका निर्देशकले उकेराकर्मीलाई पैसा दिने बताएका थिए। 

उकेराले पाएको सूचना भेरिफाई गर्न सम्पर्क गरेको जानकारी दिँदै उनलाई सोधियो, ‘बन्न सक्ने मेसिन नबनाई थन्काएर किन राखेको त ?’

उनले भने, ‘मलाई सप्पै थाहा छ। म मेसिन बिगार्दै हिँड्छु र ? प्रक्रिया हुन्छ। बनाउनु पर्छ। म तपाईंलाई लिस्ट दिन्छु यार। पैसा दिन्छु। त्यो पूरै दृष्टिकोण मलाई एक पटक भेटेपछि बदलिन्छ, तपाईंको दृष्टिकोण।’

बिग्रिएको मेसिनबारे चासो राख्दा ट्रमा सेन्टरका निर्देशकले भने- ‘यार आउनुस् न, पैसा दिन्छु’

उकेराले आज प्रस्तुत गरेको अर्काे समाचार थियो– संसद् विघटन मुद्दाबारेको।

आज दिनभर संवैधानिक इजलासमा संसद् विघटन मुद्दाबारे भएका बहसको विस्तृत समाचार। 

सभामुखका तर्फबाट अन्तिममा बहस गर्न आए, वरिष्ठ अधिवक्ता लवकुमार मैनाली। उनले पनि संसद्बाट प्रधानमन्त्रीलाई असहयोग नरहेको दाबी गरे।

‘प्रधानमन्त्रीका वकिलले संसद् पुनःस्थापना भए पनि प्रधानमन्त्रीले बैठक बोलाउनु भएन भने के हुन्छ भनेर भन्नु भएको छ। त्यसैले श्रीमान् फैसलामा बैठकको मिति नै तोकिनुपर्छ,’ मैनाली माग गरे। 

सभामुखका निजी वकिलले भने– संसद् पुनःस्थापना गरिँदा पहिलो बैठकको मिति नै तोकिनुपर्छ, श्रीमान्
 

माघ ३०, २०७७ शुक्रबार ०२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।