काठमाडौंकाे तारकेश्वरमा फेरि देखियो बर्ड फ्लु
काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु देखिएको छ। तारकेश्वर नगरपालिका–१ मा कृषकले पालेका हाँसमा बर्ड फ्लु देखिएको हो।
पशु सेवा विभागका अनुसार केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा माघ २७ गते हाँसमा (एच फाइभ एन वान) बर्ड फ्लु प्रमाणित भएको हो।
बर्ड फ्लु देखिएको क्षेत्रबाट अन्यत्र रोग फैलन नदिन रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घर पालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत आज (बिहीबार) नष्ट गरिएको विभागले जनाएको छ।
बर्ड फ्लु फैलिएको क्षेत्रका १ हजार ४ सय २१ हाँस, ४२ वटा स्थानीय कुखुरा, २६ वटा अण्डा र ८ सय किलो दाना नष्ट गरिएको विभागले जानकारी दिएको छ।
बर्ड फ्लु देखिएको क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिएको विभागको दाबी छ। बर्ड फ्लुको जोखिमबाट बच्न सुरक्षाका विधि अवलम्बन गर्न पनि विभागले आग्रह गरेको छ।
यसअघि यही माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका–७, साङ्ले खोला फुटुङमा बर्ड फ्लु देखिएको थियो। त्यति बेला हाँस र टर्कीको नमुना परीक्षण गर्दा बर्ड फ्लु देखिएको थियो।
बर्ड फ्लु भेटिएको क्षेत्रलाई सोही दिन निःसंक्रमण गरिएको र त्यस क्षेत्र वरपरका पंक्षी पनि नष्ट गरिएकाले संक्रमण नियन्त्रण भइसकेको विभागले दाबी गरेको थियो।
माघ ३०, २०७७ शुक्रबार ००:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।