अनाथ बालबालिकालाई टेकुमा नयाँ घर
काठमाडौँ : टेकुस्थित जनउद्धार सेवा समितिमा आश्रित अनाथ बालबालिकाका लागि लेडिज सर्कलले भौतिक संरचना निर्माण गर्न थालेको छ। पहिलो चरणमा चिकित्सा कक्ष निर्माण भइसकेको छ। सो कक्ष बिहीबार हस्तान्तरण गरियो।
समितिले सञ्चालन गर्दै आएको अनाथालयमा १७ बालबालिका आश्रित छन्। २०७२ को महाभूकम्पमा समिति परिसरका संरचना भत्केपछि आश्रित बालबालिकाको बिचल्ली भएको थियो। उक्त अवस्थामा सर्कलले नयाँ संरचना निर्माण अभियान सुरु गरेको काठमाडौँ लेडिज सर्कल १ की अध्यक्ष प्रभा शारडाले बताइन्।
लेडिज सर्कलकी राष्ट्रिय अध्यक्ष रश्मि दासले कोरोना कहरका बिच पनि सामाजिक उत्तरदायित्वका काममा सक्रिय हुन पाएकामा सन्तुष्टि मिलेको बताइन्।
नेपाल प्रहरीकी उपरीक्षक गङ्गा पन्तले उक्त कक्ष उद्घाटन गरेकी थिइन्। पन्तले अर्काको दुःख पीडा कम गर्न लागिपर्ने जो कोही सराहनायोग्य हुने उल्लेख गर्दै महिला सशक्तीकरणमा समाजसेवाले ठुलो अर्थ राख्ने बताइन्।
नेपइनसाइट अध्यक्ष सुन्दर खनालले परोपकारको साँचो संस्कृति समाजमा खट्कँदै गएको अवस्थामा बालबालिकाहरूको हितमा काम गरिनु उदाहरणीय भएको बताए।
माघ २९, २०७७ बिहीबार २१:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।